अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सबिता न्यौपानेले धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख एकहजार रूपैया सहयोग प्रदान गरेका छन् ।
आफ्नी छोरी वियंसा न्यौपानेको २८ मे, शनिबार परेको ११ औं जन्मदिनको अवसरमा उनले यो रकम प्रदान गर्ने घोषणा गरेका हुन्। धुर्मस सुन्तली फाउण्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत वस्तीका लागि न्यौपानेले यो रकम दिएका हुन् ।
‘सीताराम कट्टेल धुर्मुसले नेपालमा साँच्चिकै नमूना भन्न लायक काम गरिरहेका छन्, उनलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,’ न्यौपानेले भने । त्यही भएर छोरीको जन्मदिनको अवसरमा गर्न लागिएको पार्टी रद्ध गरेर यो रकम प्रदान गर्न लागेका हुन्।
धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ। चार करोडभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत वस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ। यसअघि धुर्मुस सुन्तली फाउण्डेसनले काभ्रेमा एकीकृत वस्ती निर्माण गरिसकेको छ।
चितवनमा जन्मेर विगत १० वर्षदेखि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा बस्दै आएका छन् । उनले प्रवासी नेपालीलाई लक्षित गरेर हिमालय खबर अनलाइन सञ्चालन गर्दै आएका छन् ।