काठमाण्डौ । पूर्व अर्थमन्त्रीहरुले बजेट कार्यान्वयन जटिल देखिएको भन्दै यसले महँगी बढाउने बताएका छन्। धेरै क्षेत्रमा बजेट वितरण गर्न खोजिएको भन्दै उनीहरुले आलोचना गरेका छन्।
चालुगत खर्चभन्दा पुँजीगत खर्च धेरै न्यून हुनु र कार्यान्वयन गर्ने आधार झन् कमजोर देखिएको पूर्व अर्थमन्त्रीहरुको भनाइ छ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले हालको बजेटले वित्तीय अराजकता ल्याउने दाबी गरेका छन्। बजेट वक्तव्यपछि आफ्नो धारणा राख्दै महतले भूकम्पको पुनर्निर्माणमा पनि सरकारले जोड नदिएको बताए। बजेटले १०–१५ वर्षसम्मका दीर्घकालीन आयोजना वितरण गर्न खोजेको र त्यसको कार्यान्वयन हराएर जाने खालको रहेको उनले उल्लेख गरे।
उपभोगमा जाने खर्च बढेको तर पुँजीगत खर्चमा कार्यान्वयन हुनेगरी बजेट नल्याइएको भन्दै महतले यसले मुद्रास्फिति बढाउने बताए। ‘यसले सर्वसाधारणलाई महँगीको मारमा पार्नेछ,’ उनले भने।
अर्का पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बजेटमा फास्ट ट्रयाक तथा नयाँ केही आयोजनालाई जोड दिइनु सकारात्मक पक्ष रहेको बताए। बजेट धेरैतिर वितरणमुखी भएकाले पुँजीगत खर्च हुन नसकेमा त्यसले आर्थिक क्षेत्रमा ठूलो चुनौति ल्याउने बताए।
‘पुँजीगत खर्च जम्मा ३ खर्बको हाराहारीमा छ, त्यै पनि खर्च हुन नसके यसले आम सर्वसाधारणलाई महँगीमा धकेल्छ,’ उनले भने।
कुनै निश्चित पूर्वाधारलाई केन्द्रित नगरिएकाले बजेट कार्यान्वयन थप चुनौतिपूर्ण बनेको पाण्डेको भनाइ छ। मूल्य बृद्धि नियन्त्रणका लागि बजेट केन्द्रित हुन नसकेको बताउँदै उनले पुँजीगत खर्चलाई सही रुपमा खर्च गर्न सक्ने हो भने यसले भविष्यका विकासका आधारलाई केही बलियो बनाउने बताए।
त्यस्तै, अर्का पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटले कार्यान्वयन क्षमता सुधारका लागि केही पनि कार्यक्रम नल्याएको भन्दै यसले मुद्रास्फिति बढाउने तर्क गरे। ‘वैदेशिक सहायता र ऋण गरी झण्डै ३ खर्ब जुटाउने आधार पनि देखिँदैन,’ उनले भने, ‘यसबाट भोलि आइपर्न सक्ने जटिलतालाई कसरी सम्बोधन गर्न सक्छ?’ वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नेतर्फ बजेटले ध्यान नदिएको उनले बताए।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटमा राम्रा कार्यक्रम रहेको बताए। लगानी बढाउने प्रतिबद्धता, सहकारीलाई दिइएको प्राथमिकता, कृषिलाई दिइएको प्राथमिकताले बजेट लोकप्रिय रहेको उनले टिप्पणी गरे। कार्यान्वयन पक्ष भने जटिल रहेको उनको भनाइ छ।