झापा- झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ।
बाह्रदशी गाउँपालिका वडा नं. १ बोक्राझारी निवासी ५० वर्षीया लिला राजवंशीको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
घटना विवरण अनुसार, गत फागुन ७ गते बिहान करिब ५:४५ बजेको समयमा राजवंशीले आफ्नो निर्माणाधीन पक्की घरमा पानी हालिरहेकी थिइन्।
सोही क्रममा नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन (भागुडुब्बा) बाट निस्किएको एउटा जंगली हात्तीले उनलाई अचानक आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनी गम्भीर घाइते भएकी थिइन्।
आक्रमण लगत्तै उनलाई तत्काल उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याइएको थियो।
पाँच दिनसम्म अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेकी राजवंशीको आज (फागुन १२ गते) बिहान १:०५ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।
मृतकको शव अहिले सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
