काठमाडौँ- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् ।
त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ । प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङजामा दुई÷दुई वटा आगलागीका घटना भएका छन् ।
यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ । संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए ।
त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ
प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।
