झापा — झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार धर्मशीला चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्।
“झापा-२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने” संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी छन्।
चापागाईंको प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको ‘क्षेत्रीय हब’का रूपमा विकास गर्ने मुख्य प्राथमिकता राखिएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षालयको स्थापना र सरकारी क्याम्पसहरूको स्तरोन्नति गर्ने उनको योजना छ।
साथै, बिर्तामोडको बजारलाई व्यवस्थित गरी कृषि उपज संकलन केन्द्रका रूपमा विकास गर्ने र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन अस्पतालहरूको स्तरोन्नति गरिने उल्लेख छ। भौतिक पूर्वाधारतर्फ महेन्द्र राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्म जोड्ने सडक सञ्जालको स्तरोन्नति र बिरिङ खोलामा पुल निर्माणलाई उनले प्राथमिकता दिएकी छन्।
धार्मिक पर्यटनको सन्दर्भमा अर्जुनधारालाई उत्कृष्ट पर्यटकीय केन्द्र बनाउने र सालबारी, निचाझोडा जस्ता प्राकृतिक स्थलहरूको संरक्षण गरी स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चारपाने दक्षिण बेल्टमा औद्योगिक कोरिडोर निर्माण गरी स्वदेशी रोजगारी प्रवर्द्धन गर्ने योजना पनि उनको छ।
चापागाईंले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताएकी छन्। मिटरब्याजी पीडित किसान र मजदुरहरूलाई राहत दिन कानुनी पहल गर्ने, भूमिहीनहरूको हकअधिकारका लागि भूमिसम्बन्धी ऐन संशोधन गर्न पहल गर्ने र महिला, दलित तथा अल्पसंख्यकको अधिकार संरक्षणका लागि समूहगत प्रणाली अपनाइने उनको योजना प्रतिवद्धता पत्रमा उल्लेख छ।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि पशुपालन, सुपारी र तरकारी खेतीमा जोड दिँदै कृषि सहकारीको संरचना सुधार गर्ने उनको लक्ष्य छ। वातावरण संरक्षणका लागि स्थानीय सिमसार र नदीहरूको दोहन रोक्ने तथा ‘एक वडा, एक पुस्तकालय’ को अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
साथै, यो क्षेत्रलाई सूचना प्रविधिको हब बनाउन निःशुल्क वाइफाई र डिजिटल प्रणालीको अवलम्बन गरिने चापागाईंले बताएकी छन्। विगतको अनुभव र वैचारिक स्पष्टताका आधारमा आफूलाई सेवा गर्ने अवसर प्रदान गर्न उनले मतदाताहरूसँग अनुरोध गरेकी छन्।
