झापा — वैदेशिक रोजगारीका विविध आयाम, यस क्षेत्रका चुनौती र समाधानका उपायहरूलाई समेटेर तयार पारिएको ‘सुखानी वैदेशिक रोजगार विशेषांक’ म्यागेजिन आइतबार भद्रपुरमा विमोचन गरिएको छ।
प्रेस क्लब भद्रपुरको आयोजनामा प्रकाशित यस विशेष पुस्तकको सम्पादन पत्रकार राजु पाठकले गरेका हुन्।
प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रमुख अतिथि कोइरालासहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा अध्यक्ष एकराज गिरी र वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाक लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए।
कार्यक्रममा पुस्तकको महत्वमाथि चर्चा गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले वैदेशिक रोजगारीका समस्यालाई उजागर गर्न यसले मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
प्रेस क्लब भद्रपुरका महासचिव भेषराज नेपालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तारामणि सापकोटा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष रोहित काफ्लेले गरेका थिए।
