झापा- झापाको भद्रपुरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो ३:४० बजे भद्रपुर नगरपालिका वडा नं. ८ स्थित सगरमाथा चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा भद्रपुर–८ का २८ वर्षीय कृष्ण राजवंशी, १८ वर्षीय निशान मोहम्मद, १९ वर्षीय इमरान मोहम्मद, भद्रपुर–१० का २४ वर्षीय मोहम्मद जाहित र बिर्तामोड–३ का २१ वर्षीय निशान चौधरी रहेका छन्।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो।
प्रहरीका अनुसार जगतबहादुर मगरको घरमा भाडामा बस्दै आएका निशान मोहम्मदको कोठामा लुकिछिपी लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको थियो।
सो क्रममा उनीहरूको साथबाट प्लाष्टिकसहित १० ग्राम ३८० मिलिग्राम (प्लाष्टिक बाहेक ९ ग्राम ५८० मिलिग्राम) ब्राउनसुगर बरामद भएको छ।
पक्राउ परेकाहरूको साथबाट मे १० प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।
