झापा- झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण)’ मा आयोजक झापा–११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
खेलको सुरुवाती अग्रता भने नेपाल पुलिस क्लबले लिएको थियो। १२ औँ मिनेटमा धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले उत्कृष्ट गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए।
तर, पहिलो हाफको इन्ज्युरी समयमा झापाका शिशिर लेखीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले राजेश दाहालको प्रहारलाई सदुपयोग गर्दै डिबक्स भित्रबाट गोल गरेका थिए।
खेलको ५९ औँ मिनेटमा राजेश दाहालले निर्णायक गोल गरे। शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिएका थिए, जुन गोल नै झापाको जितका लागि निर्णायक बन्यो। पुलिसले खेलमा फर्कने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिनु पर्यो। निर्णायक गोल र उत्कृष्ट प्रदर्शन गरेका झापाका राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे।
फागुनको दोस्रो सातासम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
विधागततर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरू सहित भारत, भुटान र मलेसियाका गरी कुल १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन्। सो अवसरमा रंगशालाका जग्गादाता डोमालाल राजवंशीको शालिक अनावरण गरिनुका साथै उनकी सुपुत्री सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँले सम्मान गरिएको थियो।
आयोजक समितिका अध्यक्ष केदार गिरी र संरक्षक जलकुमार गुरुङले झापालाई फुटबलको हब बनाउन र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरे।
