झापा- झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले आफ्नो २३औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
सो अवसरमा एकेडेमीले एभिन्युज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइनका सम्पादक सन्तोष न्यौपानेलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ र प्रिन्सिपल देवेन्द्र हुमागाईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
वार्षिकोत्सवका अवसरमा विद्यालयले शिक्षासेवी, उत्कृष्ट शिक्षक, अभिभावक र जेहेन्दार विद्यार्थीहरूलाई समेत पुरस्कृत गरेको छ।
सम्मानित हुनेहरूमा शिक्षासेवी गौतम शर्मा शिवाकोटी, उत्कृष्ट शिक्षकहरू केवल सापकोटा र नोयल परेरा, तथा उत्कृष्ट अभिभावक मदनगोपाल सुब्बा र मेनुका ओली लोहनी रहेका छन्। त्यसैगरी, शैक्षिक क्षेत्रमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू सावित्रा न्यौपाने, श्रीयसी कार्की र संस्कार भट्टराईलाई नगदसहित सम्मान गरिएको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत न्यूटन्स एकेडेमीले विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूलाई आर्थिक सहयोग समेत हस्तान्तरण गरेको छ। विद्यालयले ‘झापा गोल्डकप’लाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
त्यस्तै, सरस्वती माध्यमिक विद्यालय, कनकाई आदर्श विद्या मन्दिर घैलाडुब्बा र आठराईको एक विद्यालयलाई जनही ३ लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ भने बिर्तामोडको मदरसा तालिमुल कुरान विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल देवेन्द्र हुमागाईले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको उपस्थिति थियो।
विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन लीला अनमोल र पवित्रा पौडेलले गरेका थिए।
