झापा- झापाको मेचीनगर–१० धुलाबारीस्थित निन्दा पुलबाट प्रहरीले चोरीको सामानसहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी २३ वर्षीया श्रीमती सबिना खातुन रहेका छन्।
हिजो दिउँसो करिब २ बजेको समयमा उनीहरूलाई चोरीको सामग्री ओसारपसार गरिरहेको अवस्थामा फेला पारिएको हो।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई चेकजाँच गरेको थियो।
त्यस क्रममा उनीहरूको साथबाट नेपाल टेलिकमको करिब एक लाख रुपैयाँ बराबरको दुई बोरा तार, एउटा तार कटर र एउटा ग्लेण्डर मेसिन बरामद गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको उक्त तार बिर्तामोड क्षेत्रबाट चोरी भएको खुलेको छ। पक्राउ परेका दम्पतीलाई नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
