झापा- झापाको बिर्तामोडमा आयोजना हुने सातौँ संस्करणको ‘झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेहरूको संख्यामा उत्साहजनक वृद्धि भएको छ।
आयोजक समितिका अनुसार हालसम्म एक सयभन्दा बढी व्यक्तिहरूले नयाँ सदस्यता प्राप्त गरिसकेका छन्।
गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार पुस महिनादेखि सुरु गरिएको यस अभियानमा झापा मात्र नभई देशभर र विदेशमा रहेका नेपालीहरूले समेत रुचि देखाएका छन्।
सदस्यताका लागि पुरुषको हकमा १५ हजार र महिलाका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। यो अभियान गोल्डकपलाई दीर्घकालीन रूपमा व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले अघि सारिएको हो।
आगामी माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुने यस प्रतियोगितामा नेपालका तीन विभागीय टोली, आयोजक झापा ११, र ए डिभिजनका क्लबहरू सहभागी हुनेछन्। साथै, प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिन भारत, भुटान र मलेसियाका एक-एक टिमको पनि सहभागिता रहने निश्चित भएको छ।
स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित यस सातौँ संस्करणको विजेताले १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने तालिका छ। कोषाध्यक्ष चन्द्रमणि कट्टेलका अनुसार नयाँ सदस्यहरूलाई प्रतियोगिताका दौरान विशेष सुविधाहरू प्रदान गर्ने तयारीसमेत गरिएको छ।
