झापा- झापाको कनकाई माई मेला भर्न जाने क्रममा आज बिहान भएको सवारी दुर्घटनामा परी एकै परिवारका आमा र छोराको मृत्यु भएको छ ।
पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत कनकाई नगरपालिका-३, नयाँ बस्तीमा पिकअप र बस एक-आपसमा ठक्कर खाँदा भद्रपुर-८ निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनका १८ महिने छोरा आरुति राजवंशीको ज्यान गएको हो ।
बिहान साढे ९ बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २१४९ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका बालक आरुतिलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए भने उनकी आमा सुस्माको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहान ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृतक बालकका बुबा ४० वर्षीय आफुद राजवंशी र १५ वर्षीय दाजु आशिष राजवंशीसहित ११ जना घाइते भएका छन् ।
आफुद राजवंशीको अवस्था गम्भीर रहेको र उनको टाउको तथा हातखुट्टामा चोट लागेको छ । घाइतेमध्ये ३ जनाको बीएण्डसी अस्पताल र ८ जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
