झापा- माघे संक्रान्तिको अवसरमा कन्काई माईमा मेला लागिरहेका बेला आज बिहान भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बिहान करिब ९:३० बजे कन्काई नगरपालिका–३ स्थित नयाँ बस्तीमा पूर्व-पश्चिम लोकमार्गमा पिकअप र बस एकापसमा जुध्दा उक्त घटना भएको हो ।
बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप भ्यान र विपरीत दिशा माईधारबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनामा परी पिकअपमा सवार भद्रपुर नगरपालिकाका आफुद राजवंशीका १८ महिनाका छोरा आरुति राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका १२ जनाको बिर्तामोडका दुई अस्पतालमा उपचार भइरहेको छ । बीएण्डसी अस्पतालमा मेचीनगर–१५ का ६५ वर्षीया फुलमुनि मुर्मु, ४२ वर्षीया जमुना राजवंशी र ११ वर्षीय अनिष राजवंशीको उपचार भइरहेको छ, उनीहरूको अवस्था सामान्य छ ।
यस्तै, बिर्तासिटी अस्पतालमा उपचाररत ९ जनामध्ये आफुद राजवंशी, उनकी श्रीमती सुस्मा राजवंशी र ४५ वर्षीया पाथल राजवंशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले पिकअप चालक बिर्तामोड–६ का ३९ वर्षीय जाकिर हुसेनलाई नियन्त्रणमा लिएको छ ।
