विराटनगर- नेपाली क्रिकेट क्षेत्रले एक प्रतिभावान खेलाडी गुमाएको छ। कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनाश थापाको गएराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको छ।
लामो समयदेखि घरेलु क्रिकेटमा सक्रिय थापाको असामयिक निधनले खेलकुद क्षेत्र स्तब्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटना विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा भएको हो। गएराति थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।
विराटनगर महानगरपालिका–५ निवासी थापा विगत ९ वर्षभन्दा लामो समयदेखि क्रिकेटमा सक्रिय थिए। एक कुशल ब्याट्सम्यानका रूपमा चिनिएका उनले कोशी प्रदेशको नेतृत्व गर्नुका साथै विभिन्न चर्चित फ्रेन्चाइज लिगहरूमा समेत आफ्नो कौशल प्रदर्शन गरिसकेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाइकल तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।
