झापा- पूर्वेली समाचार प्रा.लि.ले आफ्नो स्थापनाको एक वर्ष सफलतापूर्वक पूरा गरी बिहीबार प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
गणेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले समाचार लेखनमा प्रमाण, तथ्य र सबै पक्षको आवाज समेटिनुपर्नेमा जोड दिँदै सन्तुलित पत्रकारिता गर्न सुझाव दिए। त्यस्तै, अग्रज पत्रकार उमाकान्त खनालले बदलिँदो समयसँगै पत्रकारितामा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरूले पूर्वेली समाचारको भूमिकाको प्रशंसा गरे। वडा नम्बर ७ का अध्यक्ष अबिरल कृष्ण खरेलले वडा कार्यालयको पुनर्निर्माणमा सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गरे।
त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले सत्य-तथ्यमा आधारित समाचार र भुइँमान्छेको आवाजलाई प्राथमिकता दिएकै कारण यो अनलाइन छोटो समयमै स्थापित भएको बताए।
बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले सीमित समयमै सबै क्षेत्रलाई समेट्न सफल भएकोमा पूर्वेली समाचारको कार्यशैलीको प्रशंसा गरे। कार्यक्रममा वडा सदस्य हरी बाँस्कोटा, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार र सभामुखको सचिवालयका हिमाल मैनाली लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
पत्रकारहरू नरेन्द्र ढकाल, रमेश तिवारी, पुष्प बराल, टिकाराम बास्तोला, बी.जी. तिवारीलगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन अच्युत सुवेदीले गरेका थिए।
कार्यक्रमको समापन गर्दै टिमको तर्फबाट नबिन बिमलीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
