झापा- झापाको दमकमा आगामी पुस महिनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा आगामी २०८२ साल पुस १०, ११ र १२ गते तीन दिने “प्रथम दमक नमूना ब्याडमिन्टन च्याम्पियनसिप–२०८२” सञ्चालन हुन लागेको हो।
नेपालकै पहिलो व्यावसायिक भ्यूटावर र औद्योगिक पार्क निर्माण भइरहेको पर्यटकीय तथा व्यापारिक सहर दमकलाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन यो प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए।
७ विधामा ४ सय खेलाडी सहभागी हुने
प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्रका गरी करिब ४०० खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सातवटा विभिन्न विधाहरू समावेश गरिएका छन्:
- खुल्ला पुरुष डबल र खुल्ला महिला डबल।
- खुल्ला मिक्स डबल।
- खुल्ला १००+ पुरुष भेट्रान (४० वर्ष पुगेका)।
- प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल।
- प्रदेश स्तरीय १३ वर्ष मुनिका (पुरुष तथा महिला) उमेर समूह।
दमक नगरपालिका वडा नं. ७ स्थित एकेडेमीकै कभर्ड हलमा हुने यस प्रतियोगिताका लागि झन्डै २४ लाख ७४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमध्ये ६ लाख ६५ हजार रुपैयाँ पुरस्कार राशीका लागि मात्र छुट्याइएको छ।
आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार, जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ, जुन पूर्वमै पहिलो पटक गरिएको दाबी गरिएको छ।
प्रतियोगितामा राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू खटिनेछन्। खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार ‘योनेक्स माभिस ३५०’ सटलकक प्रयोग गरी खेलाइनेछ।
सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुस ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ। उमेर समूहका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ।
नगरमा रहेका खेलप्रेमीहरूलाई एकताबद्ध बनाउन, नयाँ पुस्तालाई व्यावसायिक बनाउन र स्वास्थ्य एवं नैतिकवान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
