झापा- झापाको अर्जुनधारामा जारी खुला महिला भलिबल प्रतियोगिताको अवसरमा न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राईलाई एक लाख सात हजार रुपैयाँसहित सम्मान गरिएको छ।
बिर्तामोड र अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरूले १९ वर्षदेखि न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिँदै दुई दर्जनभन्दा बढी उपाधि जिताउन सफल प्रशिक्षक राईको योगदानको कदर गर्दै उनलाई दोसल्ला र ढाका टोपी ओढाएर सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले संयुक्त रूपमा ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
त्यसैगरी, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५०० रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ, अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले सात हजार ५०० रुपैयाँ र सेवारो क्याफेले पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।
प्रशिक्षक राईको नेतृत्वमा रहेको न्यु डायमन्ड, विभागीय टोलीहरूलाई चुनौती दिनसक्ने एक्लो सिभिल टोलीका रूपमा परिचित छ।
