झापा- झापाको हल्दीवारीमा जेसीआई हल्दिवारीको आयोजनामा जिल्लास्तरको डोरी तान्ने (टग अफ वार) च्याम्पियनसिप हुने भएको छ।
उक्त प्रतियोगिता २०८२ मंसिर ११ गते चल्नेछ। आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
डोरी तान्ने खेललाई नेपालमा लोकप्रिय बनाउँदै यसबाट पर्यटन विकास गर्ने र खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको आयोजकले प्रष्ट पारेको छ।
प्रतियोगिता हल्दीवारी गाउँपालिका वडा नं.५ स्थित मोती आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन गरिनेछ।
यस च्याम्पियनसिपमा प्रथम हुने टिमले नगद ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेता टिमले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। कार्यक्रम गर्न करिब ९ लाख ८२ हजार रुपैयाँ लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ।
डोरी तान्ने खेलको विकास र प्रवर्द्धनका लागि झापामा ‘झापा जिल्ला डोरी तान्ने खेलकुद विकास बोर्ड’ को समेत स्थापना भइसकेको छ।
जेसीआई हल्दीवारीले यस खेलको माध्यमबाट समाजलाई एकजुट बनाउने, सामाजिक विकासलाई प्रवर्द्धन गर्ने र युवाहरूलाई खेलकुदमा सक्रिय गराउने अपेक्षा राखेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि प्रवेश निशुल्क गरेको छ।
प्रतियोगितामा तीन विभागीय टोली, १५ वटा पालिकाका टिम गरि जम्मा १८ वटा टिमले सहभागिता जनाउने हल्दीबारी जेसीजकी अध्यक्ष युनिता दवाडीले जानकारी दिइन्।
