झापा- कमल गाउँपालिकाले करार सेवाका लागि खोलेको अनमी र ल्याब टेक्निसियन पदको विज्ञापन रद्द गरेको छ।
अर्थ मन्त्रालयको परिपत्रअनुसार स्वीकृत दरबन्दी बाहिरका पदहरूमा करारमा कर्मचारी राख्न नपाउने व्यवस्था भएकाले यस कार्यालयबाट प्रकाशित ल्याब टेक्निसियन र अनमी पदको विज्ञापन कार्यपालिकाको असोज ३० गतेको बैठकले रद्द गरेको हो।
गाउँपालिकामा रहेका अन्य करारका कर्मचारीहरूलाई पनि हटाइने भएको छ। यस विषयमा कार्यपालिकाको बैठकले छिट्टै निर्णय गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिए।
यसै क्रममा, बिर्तामोड नगरपालिकाले हिजो (असोज ३१ गते) १८ जना करारका कर्मचारीलाई कामबाट हटाएको छ।
अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न निर्देशन दिएपछि झापाका विभिन्न पालिकाहरूले त्यसलाई कार्यान्वयन गर्दै करारका कर्मचारीहरूलाई हटाउन थालेका हुन्।
