झापा- बडी ग्यारेज बिर्तामोडको आयोजनामा तेस्रो ‘मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ को तयारी पूरा भएको छ। आगामी भदौ २७ गते प्रि-जजिङ र २८ गते फाइनल खेल गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीका अनुसार, यस वर्ष ५५ केजीदेखि ७५ केजीभन्दा माथिसम्म गरी ६ विधामा खेल हुनेछ। प्रतियोगितामा देशभरका करिब १५० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कार राशि पनि घोषणा गरिएको छ। प्रतियोगिताको ‘ओभरअल’ विजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौंले ७५ हजार र छैठौंले ५० हजार रुपैयाँ पाउनेछन्। आयोजकले झापा बाहिरका खेलाडीहरूको लागि खाना र भत्ताको समेत व्यवस्था गरेको जनाएको छ।
प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टीकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, र प्रतियोगिताका पूर्व अध्यक्ष अर्जुन मैनालीलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम संयोजक तथा बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालले यस प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता रहने बताएका छन्। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए।