काठमाडौँ- नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सुरु भएको छ । सोमबार, तीजको पहिलो दिन, विशेष गरी ‘दर’ खाएर यो पर्व मनाइँदैछ ।
भोलिपल्ट बस्ने निराहार व्रतको तयारीस्वरूप महिलाहरूले आज राति विभिन्न पौष्टिक र स्वादिष्ट परिकारहरू खाँदैछन् । तीजको व्रत बस्नुअघि शरीरमा शक्ति कायम राख्न र भोकलाई नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले दर खाने चलन छ ।
दरमा विशेषगरी दूधबाट बनेका परिकारहरू जस्तै खिर, गुँद, हलुवा, घिउ, दही, मिठाई र सेलरोटीलगायतका खानेकुराहरू खाने गरिन्छ । ठाउँ र समुदायअनुसार दरका परिकार फरक-फरक हुने भए पनि माछामासु नखाई चोखो खानेकुरा खाने चलन छ ।
विवाहित महिलाहरूले पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै दर खाएपछि भोलिपल्ट निराहार व्रत बस्छन् भने अविवाहित महिलाहरूले योग्य वरको कामना गर्दै व्रत बस्ने परम्परा छ ।
पहाडी मूलका हिन्दू महिलाहरूको मुख्य चाड मानिए पनि पछिल्लो समय अन्य समुदायका महिलाहरूमा पनि तीज मनाउने प्रचलन बढ्दै गएको छ । दर खाएपछि भोलिपल्ट व्रत बसेर रमाइलो नाचगान गर्ने भएकाले शरीरलाई ऊर्जा दिन पनि पौष्टिक खानाको आवश्यकता पर्छ ।
