झापा– झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २, राम चोकस्थित एक ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
गत साउन ३० गते राति करिब ११:१५ बजे यदुनाथ मिश्रले सञ्चालन गरेको सवारी साधन मर्मत गर्ने ग्यारेजमा अचानक आगलागी भएको थियो।
आगलागीका कारण ग्यारेज पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, इन्जिन बनाउने ६ वटा मेसिन र मर्मतका लागि ल्याइएका ६/७ वटा विभिन्न सवारी साधनका इन्जिनहरू पनि जलेका छन्।
सोही ग्यारेजमा मर्मतका लागि ल्याइएको मे १ क ६४४ नम्बरको टिपरको अगाडिको भागमा समेत सामान्य क्षति पुगेको छ।
बिर्तामोड र भद्रपुर नगरपालिकाको एक-एक गरी दुईवटा दमकल, स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा आगोलाई राति ११:५५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै पनि मानवीय वा चौपायाको क्षति भने भएको छैन।
Facebook Comments Box
