झापा- झापाको दमक–३ बेलडाँगीमा गएराति पार्किङ गरिएको एक मिनी ट्रकमा आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको छ। ना.७ ख ८६९१ नम्बरको उक्त ट्रकमा लोड गरिएको करिब ३० लाख रुपैयाँ बराबरको रेडिमेड कपडा जलेर नष्ट भएको हो।
स्थानीय महेन्द्र तामाङले आफ्नै घरअगाडि पार्किङ गरेका उक्त ट्रकमा राति करिब पौने १ बजे आगो लागेको थियो। ट्रकमा ८ जना व्यापारीको सामान रहेको बताइएको छ।
प्रहरीका अनुसार ट्रक आंशिक रूपमा जलेको छ र करिब ६ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। आगो नियन्त्रणमा लिन करिब १ घण्टा लागेको थियो।
आगलागीको कारण खुल्न बाँकी रहेको र ट्रक तथा कपडाका वास्तविक मालिकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box