झापा- झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्।
बिहान करिब ७:१५ बजे खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगो लाग्दा ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन्।
ध्रुव श्रेष्ठको घरमा भाडामा बस्दै आएकी दाहालको शरीरका विभिन्न भागमा गम्भीररूपमा डढेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक रूपमा कनकाई नगर अस्पतालमा उपचार गरिएको दाहाललाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ।
आगलागीका कारण कोठाभित्र रहेका दुई ओछ्यान, दराज, भान्साको र्याक, लत्ता–कपडा र अन्नपात पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box
