काठमाडौं- प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कारका लागि यस वर्षको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक भएको छ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक कृतिहरूमध्येबाट छानिएका १५ कृतिबाट अब शीर्ष ५ कृतिलाई छनोट गरेको हो।
अन्तिम दौडमा पर्ने कृतिहरूमा ‘उरमाल’ (आख्यान), ‘छालबाटो’ (गैरआख्यान), ‘प्रणाम सगरमाथा’ (नियात्रा), ‘स्व’ (उपन्यास), र ‘हिउँको गीत’ (उपन्यास) रहेका छन्। यी पाँचमध्ये एक कृतिले यस वर्षको पद्मश्री साहित्य पुरस्कार जित्नेछ।

विगतमा ठूलो संख्यामा प्राप्त हुने साहित्यिक कृतिहरूबाट गहन मूल्यांकन प्रक्रियापश्चात् यो संक्षिप्त सूची तयार पारिएको प्रतिष्ठानले जनाएको छ। नेपाली साहित्यको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पद्मश्री पुरस्कार कसको पोल्टामा पर्ने हो भन्ने कुराको प्रतीक्षा अब केही समयमै समाप्त हुनेछ।
