झापा- ठगीको अभियोगमा झापाको बिर्तामोड नगरपालिका-५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) पक्राउ परेकी छन्।
उनले छिमेकी महिलाको लाखौं रुपैयाँ लिएर फरार भएपछि प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेलबाट उनलाई पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मादेनले बिर्तामोड-५ की बोलीकुमारी नेम्वाङबाट ४५ लाख ३३ हजार ७५० रुपैयाँ ठगेको उजुरीका आधारमा खोजी गरिँदै आएको थियो। लामो समयपछि उनको सुराकी पाएपछि प्रहरी टोलीले धुलिखेल नगरपालिका–७ बाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मादेनले उक्त रकम नगद रुपमा सापटी लिएको वा अन्य कारोवारको नाममा ठगी गरेको भन्नेबारे अनुसन्धान जारी छ। झापा जिल्ला अदालतबाट म्याद थप गराई हाल उनको विस्तृत अनुसन्धान भइरहेको छ।
अर्थिक ठगीका यस्ता घटनामा मादेनमाथि अन्य उजुरीहरू पनि परेका बताइएको छ। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।
