काठमाडौं- अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको परियोजना पुनः कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ।
अर्थ मन्त्रालयका अनुसार, एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) नेपाल सरकारलाई पठाएको पत्रमा सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार गरिएको पुनरावलोकन प्रक्रिया औपचारिक रूपमा सकिएको जानकारी दिइएको छ। सोही पत्रमा एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ।
नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते सम्झौता भएको थियो, जसअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति परियोजनाहरू कार्यान्वयन गरिने सहमति भएको थियो।
तर सन् २०२५ मा अमेरिकी राष्ट्रपतिको कार्यालयबाट परियोजना पुनरावलोकनमा लैजाने निर्णय भएपछि त्यससम्बन्धी काम केही समयका लागि रोकिएको थियो।
अब पुनरावलोकन प्रक्रिया समाप्त भएको जानकारीसहित नेपाल कम्प्याक्ट कार्यक्रम पुनः कार्यान्वयन गर्न सिफारिस आएको अर्थ मन्त्रालयले सरोकारवाला निकायहरूलाई जनाएको छ।