झापा – झापाको दमकमा घरअगाडि पिसाब फेरेको निहुँमा भएको विवादले उग्र रूप लिँदा तीन जना घाइते भएका छन्। यो घटना गए राति १०:३० बजे दमक–२ मा भएको हो।
दमक–२ बस्ने समिर तामाङको घरअगाडि दमक–३ बस्ने २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बू लगायत ३–४ जना हावा खाँदै बसिरहेका थिए।
सोही क्रममा को.१ ज ३५६५ नम्बरको म्याजिकमा आएका चालक दमक–३ बस्ने ३६ वर्षीय निरज बानिया लगायतका युवाहरूले घरअगाडि पिसाब फेरेपछि विवाद सुरु भएको थियो।
हावा खाँदै बसिरहेका मानिसहरूलाई अपशब्द प्रयोग गरेपछि विवादले झन् ठूलो रूप लिएको थियो।
विवाद बढ्दै गएर कुटपिटमा परिणत हुँदा सुरज क्षेत्री, आदित्य लिम्बू र निरज बानिया घाइते भएका छन्। क्षेत्रीको दाहिने हातमा चोट लागेको छ भने लिम्बूको दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
बानियाको टाउको, अनुहार र दुवै घुँडामा चोट लागेको छ। उनलाई थप उपचारका लागि दमकस्थित निम्स अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा प्रहरी चौकी बाघखोरबाट प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
