विर्तामोड । प्रतिदिनकर्मी कल्पना कडरियाले विराट–भरत विश्रान्ति परियोजनालाई १ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् । कडरियाले शुक्रबार विश्रान्तिका पदाधिकारी र झापाली पत्रकारमाझ उक्त रकम हस्तान्तरण गर्दै विश्रान्तिको आजीवन सदस्यता लिएकी हुन् ।
विश्रान्तिको आजीवन सदस्य बन्न १ लाख रुपैयाँ निर्धारण गरिएको छ । सोही रकम बुझाएर कडरिया झापाली सञ्चार क्षेत्रबाट विश्रान्तिको आजीवन सदस्य बन्ने सम्भवतः पहिलो व्यक्ति बनेकी छन् ।
स्थापनाकालदेखि प्रतिदिन दैनिकमा लेखापालको जिम्मेवारीमा रहेकी कडरियाले आफ्नो लक्ष्य सदस्यताभन्दा पनि सामाजिक कार्यमा सहभागी हुने बताइन् । ‘थोरै पारिश्रमिकमा काम गर्नुपर्ने परिस्थिति भए पनि मैले परियोजनामा सहयोग गर्नुपर्छ भन्ने अठोट राखेर यो काम गरेकी हुँ’, उनले भनिन्, ‘यो झापाली सञ्चार क्षेत्रको तर्फबाट विश्रान्तिलाई पु¥याएको व्यक्तिगत र सानो सहयोग मात्र हो ।’
कडरियाले आफूले सुनेका भरत बाबु (सिके प्रसाईं)को योगदानलाई चीरस्थायी बनाउने कार्यमा सहभागी बन्न र विराट पोखरीको ऐतिहासिक महत्वलाई स्थापित गराउने मनसायले सहयोग गर्न प्रेरणा मिलेको बताइन् । ‘मेरो यो सहयोग विराट–भरत विश्रान्ति परियोजनालाई आफ्नो उद्देश्य र सामथ्र्यबाट केही गरौँ भन्ने नै हो’, रकम हस्तान्तरण कार्यक्रममा उनले भनिन्, ‘हस्तान्तरण गरिएको रकमले विराट–भरत विश्रान्तिको निर्माणमा एउटा इटा राख्न पाएकोमा खुशी लागेको छ ।’
सामाजिक क्षेत्रमा काम गर्ने इच्छा र चाहनाले सार्थकता पाएको उनको भनाइ छ । विश्रान्तिका परिकल्पनाकार र अभियन्ताको लगावले रकम हस्तान्तरण गर्ने प्रेरणा मिलेको उनले प्रस्ट्याइन् ।
विराट–भरत विश्रान्तिका अध्यक्ष हर्कलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विश्रान्तिका उपाध्यक्ष राजकुमार पोखरेलले उनको प्रयासको प्रशंसा गरे ।
पोखरेलले असहाय, असक्त, असक्षम र अपहेलितको सेवामा कडरियाको सहयोग अनुकरणीय भएको बताए । ‘यो सानो सहयोग होइन, समाजमा केही गर्नुपर्छ भन्ने मान्यता उमेर र पेशाले निर्धारण गर्दैन’, पोखरेलले भने, ‘कल्पना बहिनीको प्रयास हाम्रा लागि पनि अघि बढ्ने प्रेरणा हो ।’ उपाध्यक्ष पोखरेलले यस परियोजनालाई बृद्धाश्रमका रुपमा नबुझिदिन आग्रह गर्दै समाजका हरेक व्यक्तिको साझा थलोको रुपमा लिनसक्नु पर्ने बताए ।
उनले कडरियाको जस्तै सोच र भावनाले विश्रान्ति निर्माणले पूर्णता पाउने उल्लेख गर्दै सञ्चार क्षेत्रको सहयोगलाई आफूहरुले भुल्न नसक्ने बताए ।
अध्यक्ष गिरीले समाजमा ‘आइमाइ केटाकेटी’ भनेर सम्बोधन गरिने महिलाका तहबाट कडरियाले निर्वाह गरेको भूमिका नेतृत्वदायी रहेको बताए । इतिहास निर्माण गर्ने कुरामा गरिएको यो सहयोग राष्ट्रप्रति समर्पित कर्म भएको बताउँदै उनले महिलाहरुले पनि समाजमा ठुलो काम गर्न सक्छन् भन्ने उदाहरण कल्पनाको सहयोगले प्रमाणित भएको उल्लेख गरे ।
प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा कडरियाले विश्रान्तिका अध्यक्ष गिरी, उपाध्यक्ष पोखरेल र महासचिव गोपीकृष्ण प्रसार्इंलाई संयुक्त रुपमा नगद १ लाख हस्तान्तरण गरेकी हुन् ।
१४ करोड बढीको लागतमा निर्माण हुने उक्त विश्रान्तिको मंसिर २३ गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरिसकेका छन् । २ बिघा १६ धुरमा सुविधा सम्पन्न उक्त विश्रान्ति बन्नेछ । विश्रान्तिको शनिबार साधारणसभा समेत रहेको अध्यक्ष गिरीले जानकारी दिए ।