झापा — झापामा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन थालेपछि संक्रमण दर बढेको छ। हालसम्म जिल्लामा १२ जनामा संक्रमण पुष्टि भएको छ, जसमा ६ महिला र ६ पुरुष छन्। संक्रमितमध्ये ४ जना बिर्तामोड नगरपालिकाका हुन्।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरू बिर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी, भद्रपुर, बुद्धशान्ति, दोलखा र इलामका हुन्।
पहिलो संक्रमण जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा देखिएको थियो। त्यसपछि काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो। नयाँ भेरिएन्ट फैलिएयता झापामा दुई जनाको मृत्यु भइसकेको छ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोरोना संक्रमण देखिएको छ। हालसम्म २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो एक हप्तामा मात्र ३५ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणको जोखिम बढेसँगै झापामा असार २२ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार असार २२ देखि ३१ गतेसम्म जिल्लाका सबै १५ पालिकामा फाइजर खोप लगाइनेछ।