बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको सीतारमेश क्याम्पसलाई अनुदान दिइने भनेर प्रस्ताव गरिएको १५ लाख रुपैयाँमा सभा नचोडमा पुग्न नसक्दा बुद्धशान्ति गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन लम्बिएको छ।
गत असार ६ गते गाउँसभामा प्रस्तुत गरिएको बजेटमा सीतारमेश क्याम्पसलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने भनेर प्रस्ताव गरिएको थियो। सोही विषयलगायत विनियोजित आर्थिक विधेयकमा छलफल गर्न सोमबारका लागि अधिवेशनको बैठक बोलाइएको थियो। अन्य विषयमा सामान्य छलफल भए पनि सोमबारको बैठकमा सभा सदस्यहरूबीच सीतारमेश क्याम्पसलाई उपलब्ध गराउने भनिएको प्रस्तावमा मत बाझिएको छ।
खासगरी नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूबीच मत बाझिएको हो। नेकपा एमालेका सदस्यहरूले क्याम्पसलाई निसर्त पैसा दिन नमिल्ने कुरा बैठकमा राखेका थिए। वडा नं २ का सदस्य अमीर श्रेष्ठले क्याम्पसलाई निसर्त पैसा दिन नमिल्ने भन्दै एमालेका सदस्यहरूको हस्ताक्षरसहितको निवेदन पालिका अध्यक्ष मनोज प्रसाईंलाई बुझाएका थिए।
श्रेष्ठले भने, ‘पहिला दिएकै अवस्थामा सीतारमेश क्याम्पसलाई पैसा दिन सकिँदैन। महालेखा परीक्षकको कार्यालयले पहिला दिएको पैसा पनि बेरुजु निकालिदिएको छ। अनि फेरि त्यही गल्ती गर्ने हामी?’
उनको संशोधन प्रस्ताव परेपछि बैठक करिब त्यही विषयमा अडियो। नेपाली काँग्रेसबाट निर्वाचित सदस्यहरू क्याम्पसलाई जसरी पनि पैसा दिनुपर्छ भन्नेमा रहे। काँग्रेसबाट निर्वाचित वडा नं ३ का सदस्य दिपक सापकोटाले निकै कडै आवाजमा भने, ‘कस्का छोरा छोरी पढ्छन् त्यहाँ? त्यो क्याम्पस जोगाउने स्थानीय सरकारको दायित्व होइन?’
एमालेका सदस्यहरूले भने स्थानीय तहको दायित्व माध्यमिक तहको शिक्षा भएको र क्याम्पसलाई अनुदान दिने भए नीति बनाएर ससर्त दिनुपर्ने अडान राखेका थिए।
उक्त क्याम्पसमा काँग्रेस समर्थितहरूसम्मिलित व्यवस्थापन समिति रहेको छ। एमालेले भने उक्त क्याम्पस कुनै एउटा दल वा समूहको मात्र नभइ सबै दल र पक्षले अपनत्व हुनेगरी साझा बनाउन जोड दिएको छ।
गाउँसभामा प्रस्तुत विनियोजन विधेयक पारित गर्नका लागि यही असार १३ गते शुक्रबारलाई अर्को बैठक तोकिएको छ। उक्त संशोधन प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत गर्ने संभावना हुँदाहुँदै पनि सबैपक्षबीच पर्याप्त छलफलका लागि गाउँपालिका कार्यालयले समय दिएको हो।
असार १३ गतेको बैठकमा भने उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यालयले जनाएको छ।
