झापा– विभिन्न माग राख्दै झापाको गौरादहका कृषकहरूले आइतबार दोस्रो पटक चक्काजाम गरेका छन्।
बिहान ९ बजेदेखि ११ बजेसम्म गौरादह–८ चन्दन चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा कृषकहरूले दुई घण्टा यातायात अवरुद्ध पारेका हुन्।
जोरपल उच्च कृषक समूहको आयोजनामा भएको यस चक्काजामको नेतृत्व जोरपल कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद पोखरेलले गरेका थिए। करिब ५० जना स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।
कृषकहरूले “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्र्याक्टर जोताई दररेट कम हुनुपर्ने र कृषि सिँचाइ महसुल पूरै छुट हुनुपर्ने” लगायतका ४ सूत्रीय माग राखेका छन्।
उनीहरूले प्लेकार्ड बोकेर “स्थानीय सरकार मुर्दावाद, केन्द्रीय सरकार मुर्दावाद, किसानको माग पूरा गर” जस्ता नारा लगाएका थिए।
गत साता पनि उनीहरूले यसै मागमा चक्काजाम गरेका थिए।
Facebook Comments Box