झापा– विभिन्न माग राख्दै झापाको गौरादहमा किसानहरूले चक्काजाम गरेका छन्।
गौरादह नगरपालिका–८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा जोरपल उच्च कृषक समूहको आयोजनामा शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा चक्काजाम गरिएको हो।
जोरपल कृषक समूहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा करिब ३५ जना स्थानीय किसानहरू प्रदर्शनमा उत्रिएका थिए।
उनीहरूले “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्र्याक्टर जोताई दररेट कम हुनुपर्ने र कृषि सिँचाइ महशुल पुरै छुट हुनुपर्ने” लगायतका चारसूत्रीय माग राखेका छन्।
प्रदर्शनका क्रममा किसानहरूले हातमा हलो जुवा, कोदालो र विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए। चक्काजाम गरिए पनि सवारी साधनहरू सडकको साइड किनाराबाट सञ्चालनमा रहेका प्रहरीले जनाएको छ।
Facebook Comments Box
