बिर्तामोड— बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई यस वर्षको विद्यालय पोसाक वितरण सुरु गरेको छ।
वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले दुई जना छात्र र दुई जना छात्रालाई पोसाक लगाइदिएर वितरण कार्यक्रमको शुभारम्भ गरिन्।
नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख प्रसाईका अनुसार, यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी कुल २० वटा विद्यालयका ३ हजार ९ सय २५ जना विद्यार्थीलाई पोसाक वितरण गरिनेछ। अभिभावकहरूलाई थोरै भए पनि सहयोग पुगोस् र विद्यार्थीहरूमा एकरूपता आओस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। साथै, उनले विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन शिक्षक र अभिभावकलाई सुझाव दिइन्।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद चौलागाईंले अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले सामुदायिक विद्यालयहरू निजी विद्यालयभन्दा कम नरहेको धारणा राखे। यस्तै, नगरका शिक्षा शाखा प्रमुख तथा उपसचिव तिलचन भण्डारीले नगरपालिकाले प्रदान गरेको पोसाकको सदुपयोगसँगै बालबालिकाको सरसफाइमा ध्यान दिन अभिभावकहरूलाई आग्रह गरे।
पोसाक वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ र विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद घिमिरेले गरेका थिए।
