काठमाडौँ– काठमाडौंमा आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको छ। आन्तरिकतर्फका विभिन्न एयरलाइन्सका आठवटा विमान डाइभर्ट भएका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार पूर्वबाट काठमाडौं आएका विमानहरू पूर्वतिरै र काठमाडौंबाट पश्चिमतर्फ उडेका विमानहरू काठमाडौं नै फर्काइएका छन्। चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, र सुर्खेतलगायत गन्तव्यबाट काठमाडौंका लागि उडेका विमानहरू डाइभर्ट भएका हुन्।
श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ भने यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुईवटा विमान पनि डाइभर्ट भएका छन्। भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ। बुद्ध एयरकै काठमाडौंबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको छ।
त्यसैगरी, काठमाडौंबाट धनगढी र भैरहवाका लागि उडेका श्री एयरलाइन्सका विमानहरू पनि काठमाडौं नै फर्किएका छन्। सोही एयरलाइन्सका काठमाडौंबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौं फर्किएका छन्। बुद्ध एयरको काठमाडौं–नेपालगञ्ज उडानको विमान पनि काठमाडौं नै फर्किएको छ।
आज दिउँसोदेखि काठमाडौंको मौसममा आएको परिवर्तनसँगै हावाहुरी र वर्षाका कारण उडानहरू प्रभावित भएका हुन्। अन्तर्राष्ट्रियतर्फका विमानहरू भने केहीबेर आकाशमा फन्को मारेपछि अवतरण गरेका छन्।
