झापा- झापाको विभिन्न स्थानमा आइतबार साँझ परेको वर्षासँगै आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ। विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघेमा स्थानीय किसानहरूले लगाएको केराखेतीमा करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करिब १५ घरधुरीका किसानले ३० बिघा क्षेत्रमा लगाएको केराखेती हावाहुरीका कारण पूर्ण रूपमा नष्ट भएको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको टोलीले स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको जनाइएको छ।
यसैबीच, हावाहुरीले मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पनि क्षति पुर्याएको छ। कम्पनीका अनुसार हावाहुरीले पिलिङ भवनको पश्चिम भागको ट्रस र जस्ताले बनेको छाना उडाएको, साथै सिसीटीभी क्यामेरा फुटाएको छ, जसबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
दमक नगरपालिका–८ का दुर्गा प्रसाईँको दुर्गा काटा गल्ला भण्डारमा पनि हावाहुरीले क्षति पुर्याएको छ। वर्षा र हावाहुरीका कारण स्टोर हलको ३५ वटा जस्तापाता उडाएको र छानामा प्रयोग गरिएको फलामको पाइप बाङ्गिएको छ। साथै, स्टोरभित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेपछि करिब १ लाख ५० हजार बराबरको क्षति पुगेको छ।
त्यस्तै, हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको बाँस र टिनले बनेको तीनकोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उक्त क्षतिको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबरको अनुमान गरिएको छ।
दमक नगरपालिका–४ स्थित सङ्गम चोककी कमला अधिकारीको डेढ तले पक्की घरको माथिल्लो तलाको सिँढी छोप्ने जस्ता उडेर करिब ३० हजार रुपैयाँको क्षति पुगेको छ। सोही स्थानका भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुई कोठाको जस्ता उडेर करिब ६० हजार बराबरको क्षति भएको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ।
झापाका विभिन्न स्थानमा आएको यो हावाहुरीले कृषि तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।