झापा- झापाको दमकमा गएराति ट्रकको ठक्करबाट एक जना स्कुटी चालकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार राति करिब १०ः१५ बजे दमक नगरपालिका–१ स्थित रबी स्टेण्डको गेट नजिकै ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो।
स्कुटीमा सवार २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ताप्लेजुङ दोभानका लिम्बू हाल दमकमा अवस्थित थकाली किचनमा स्टाफको रुपमा कार्यरत थिए।
घटनामा स्कुटीको पछाडि सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्। उनको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box
