काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधि खरिद रोकिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधि लिमिटेडले औषधि उत्पादन बन्द गरेको विषयलाई खण्डन गरेका हुन् ।
उनले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेण्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गरे ।
उनले मन्त्रालयले आफ्नो घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने समेत जिकिर गरे । डा. बुढाथोकीले भने, “हामी आफ्नै घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्छौं । उहाँहरूले दिने मूल्य पनि विदेशीहरूको भन्दा सस्तो हुन्छ भन्ने हामीलाई विश्वास लाग्छ । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भएर कागजात पूरा गर्नुभयो र सुनिश्चितता गर्नुभयो भने उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो । मन्त्रालय विधिमा चल्छ । नियम कानुन मानेर चल्छ ।”
प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जी टु जी (सरकारी टु सरकारी) काम गर्नको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै वर्ष भरी कुनै पनि औषधिको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताए।
टेण्डर प्रक्रियामा नजाने र विजनेश प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गरे। नेपाल औषधि लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अर्थ मन्त्रालयमा औषधि लिमिटेडले पेश गरेको एमओयु स्वीकृत नभएकोसमेत बताए।