झापा- ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् ।
विएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा आज वडा कार्यालय भवनमा आयोजित शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवासंगै ईसिजी परिक्षण, भिआईए र बिपि चेक लगायतका सेवाहरू प्रदान गरिएको छ ।
सोहि कार्यक्रमका विच स्तन क्यान्सर, पाठेघरको मुखको क्यानसर र लागु औषध दुर्व्यसनीविरुद्दको सचेतना कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रेसर जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले स्वास्थ्य विमा अनिबार्य गर्न सबैलाई आग्रह गर्नु भयो । बिर्तामोड नगरअस्पताललाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले काम गरिरहेको भन्दै उहाँले आगामी वर्षदेखि २४ सै घण्टा सेवा उपलव्ध गराउने प्रयास रहेको जानकारी दिए। उनले नियमित स्वास्थ्य परिक्षण गर्न सबैलाई आग्रह गरे।
यस्तै कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले अस्वस्थ खानपानका कारण दिनानुदिन ठूला रोगीको संख्या बढ्दै गएको बताए। विषादी प्रयोग गरिएका सागसव्जीको कारण प्राणघातक रोगहरू लाग्ने गरेको भन्दै उनले बिर्तामोड नगरपालिकाले अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै आएको जानकारी दिए।

यस्तै नगरका प्रवक्तासमेत रहनुभएका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले लागुऔषध दुर्व्यसनीका कारण पनि विभिन्न रोगहरू लाग्ने भएका कारण स्वास्थ्य शिविरसंगै चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको गरिएको जानकारी दिए। उनले वडाका नागरिकको लागि आगामी दिनमा यस प्रकारको शिविर अझै सञ्चालन गर्ने बताए।
कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्यले स्वागत तथा वडासचिब जानुका बस्नेतले सञ्चालन गर्नु भएको थियो ।
