झापा- नेपालको एक प्रतिष्ठित गोल्डकप फुटबल प्रतियोगिताको रुपमा परिचय बनाएको झापा गोल्डकपले झापा एफसीसँग सहकार्य गर्नका लागि सम्झौता गरेको छ।
मंगलबार झापाको बिर्तामोडमा एक कार्यक्रमकाबीच झापा गोल्डकप र झापा एफसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरी र झापा एफसीका तर्फबाट अध्यक्ष अर्पण खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे।
फुटबल कार्यक्रम तथा प्रतियोगिताहरूमा दुवै पक्षको सक्रिय सहभागिता, ग्रास रुट, महिला फुटबल विकासमा सहकार्य, प्राविधिक र प्रशासनिक काममा आपसी सहयोग, पूर्वधार विकासमा सहकार्य, संस्थागत प्रवर्द्धन तथा ब्रान्डिङमा सहकार्य लगायका कार्यक्रमहरू सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा झापा गोल्डकपका निर्वमान अध्यक्ष विनोद बस्नेतले झापामा फुटबलको बिकास गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न एमओयुमा हस्ताक्षर गरिएको जानकारी दिए।
उनले विदेशमा रहेर पनि झापाका फुटबल खेलाडीहरूको उत्पादनका निम्ति अतुलनीय योगदान पुर्याएको भन्दै झापा एफसीका अध्यक्ष खड्कालाई धन्यवाद दिए।
कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले फुटबलको विकासका लागि झापा एफसीसँग सम्झौता गरिएको जनाकारी दिए।
झापा एफसीका अध्यक्ष खड्काले झापाली फुटबलको विकासका लागि यो सम्झौता कोसेढुंगा साबित हुने बताए।