झापा- झापाको कचनकवल–६, बनियानीमा पुराणको प्रसाद खाएर १८ जना विरामी भएका छन् ।
पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाएर ३ जना बालबालिकासहित १८ जना विरामी भएका हुन् । विरामीको संख्या बढ्दै गएको छ ।
शनिवार बेलुका प्रसाद खाएकोमा आइतबार बिहानदेखि उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिएको छ ।
बिहान साढे ११ बजे शुरुमा एकजना वृद्धा विरामी भएर आएकोमा त्यसपछि अरु पनि आउन थालेको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीका चिकित्सक डा. दिपेन राजवंशीले बताए ।
उनले स्वास्थ्य केन्द्र विरामीले भरिसकेको जानकारी दिए । भर्ना भएकामध्ये १२ जना निको भएको र केहीलाई रेफर गर्ने तयारी भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
विषाक्त प्रसाद चेकजाँच गर्न दाहालको घरमा स्वास्थ्यकर्मी पठाइएको उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
