झापा- झापाको कनकाई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
मंगलबार साँझ कन्काई ४ मा दुईजनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो ।
त्यसक्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । फेरि पनि भाग्न नछाडेपछि दुई राउन्ड गोली हानेर लागुऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
एकजनाको खुट्टामा दुई गोली लागेको छ । दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिए।
पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन् ।
एकजनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कनकाई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।