झापा- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।
स्थापना भएको २५ वर्षपछि आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजको नेतृत्व आदिवासीको हातमा गएको हो । शनिवार बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया ‘ए’, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।
त्यस्तै अधिवेशनबाट ८ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । दीपिन राई, गणेशमान मुखिया, भूमिका फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ । त्यस्तै ५ हजार राशि भएको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो ।
