झापा- झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव मंगलबारबाट सुरु भएको छ।
महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन्।
महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उद्योगी–व्यवसायीलाई आगामी वर्ष दस करोड रुपैयाँ भन्दा माथिका सामुहिक योजना प्रदेश सरकारसमक्ष पेश गर्न आग्रह गरेका छन्।
सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रवर्द्धनमा नै लक्षित रहेको उनले बताए।
एसियन हाइवेको निर्माणपछि सिंगो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भावना रहेको उनको भनाइ थियो।
‘व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको छ’, कार्कीले भने, ‘आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्छ । प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ ।’
कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५०सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।
आजबाट सुरु भएको महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।