झापा- राष्ट्रिय भाक्का दिवसलाई झापाका पालिकाहरूलेसमेत मनाउने भएका छन् ।
भाक्का दिवसका दिन सार्वजनिक विदा दिँदै आएका जिल्लाका पालिकाहरूले कार्यक्रम आयोजना गर्न लागेका हुन् । गत वर्ष झापाका तीन पालिकाले विदा दिएका थिए ।
आदिवासी राजवंशी समुदायको बिशेष खाजाको परिकारको रुपमा लिइने भाक्का अर्थात भाक्काको प्रवर्द्धनका लागि हरेक बर्ष पुस २९ गते झापामा उत्सवको रुपमा मनाइने भाक्का दिवसको अवसर पारेर कचनकवल गाउँपालिका, हल्दीवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले गत वर्ष विदा दिएका थिए ।
यस वर्ष पनि पुस २९ गते सोमवार कचनकवल गाउँपालिकाले आठौं राष्ट्रिय भाक्का दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाहरूले विदा दिने तयारी गरेका छन् । यस वर्ष दमक नगरपालिकाले पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।
दमक नगरपालिकाले स्थायी ठेगाना दमक भइ दमक नगरभित्र भाक्काको व्यवसाय गरेर आयआर्जन गरिरहेका भाक्का व्यवसायीहरूलाई प्रोत्साहन गर्ने भएको छ । पुस २९ गते दमक नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सो कार्यक्रम गर्ने भएको छ ।
भाक्का दिवसको अवसरमा विगत एक सातादेखि लगातार कार्यक्रम हुँदै आएको छ । मुख्य कार्यक्रम पुस २९ गते बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
त्यस्तै पुष २८ गते उत्तम राजवंशी जिल्ला अध्यक्ष भएको अर्को राजवंशी समाज विकास समितिले भद्रपुरमा कार्यक्रम गर्ने भएको छ ।
