झापा– घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।
सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई शुक्रबार अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता रुद्र आचार्यले बताए ।
अभियोग पत्र दर्ता भइसकेको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले भोलि शनिवार विदा परेकाले आइतवार आरोपितसंग बयान लिएर थुनछेक बहस सुरु गरिने जानकारी दिए ।
बीएण्डसी अस्पतालमा रहेकै बेला शिवाकोटीसँग बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरूले मुद्धा सरकारी वकिलको कार्यालयलाई बुधवार बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो ।
स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।
