झापा- झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारबाट खुल्ला बेच्न नपाइने नशालु औषधि बेचेको आरोपमा झापाको बिर्तामोड ३ का एकजना मेडिकल व्यवसायी पक्राउ परेका छन्।
बिर्ताबजारमा सञ्चालनमा रहेको मुटु पोलिक्लिनिक एण्ड हाडजोर्नी नसा सेन्टरका सञ्चालक राजेन्द्र शाह पक्राउ परेका हुन्।
उनलाई डाक्टरको प्रेस्किप्सन बिना दिन नहुने ट्रामाडोल, लोराजेपामलगायत नशा दिने नियन्त्रित औषधी विक्री गरेको पाइएपछि जनप्रतिनिधि तथा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
शाह पक्राउ परेपछि इलाका प्रहरी कार्यालय अनारमनीले औषधि व्यवस्था विभागमा खबर गरेपछि विभागका अधिकारीहरूले प्रहरीको सहयोगमा उक्त औषधि पसलमा खोजतलास गरेका थिए।
खोजतलास गर्ने क्रममा सोही प्रकारका नियन्त्रित औषधि शाहले प्लाष्टिकको पोकामा राखेको पाइएको थियो। स्थानीय जनप्रतिनिधि तथा छिमेकीले पटक-पटक सम्झाउँदा पनि शाहले त्यस्ता औषधि बिक्री गर्न नछाडेपछि स्थानीयबासी नै लागेर उनलाई औषधि बेच्दै गर्दा किन्ने मान्छेसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
शुक्रबार साँझ शाहको क्लिनिकमा खोजतलास गर्ने क्रममा नियन्त्रित औषधि पाइएपछि औषधि व्यवस्था विभागका अधिकारीहरूले ‘कहाँबाट आयो यो औषधि?’ भनेर सोध्दा ‘खोइ कस्ले ल्याएर राख्यो’ भन्ने जवाफ शाहले दिएका थिए।
उनलाई कानुनअनुसार कारबाही हुने विभागका अधिकारीहरूले बताएका छन्। उनीहरूले शाहको औषधि पसलमा सिलबन्दी गरेका छन्।