झापा- झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्।
पक्राउ पर्ने दमककै बुद्धिमान थापा पक्राउ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ पर्ने थापा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु हुन् ।
राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १५ दिनअघि निधन भएपछि फरार सूचीमा रहेका बुद्धिमानलाई प्रहरीले काजकिरिया सकिएपछि बिहीबार पक्राउ गरेको हो । उनीहरु दाजुभाइ सपरिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा रहेका थिए ।
थापाका बुबाको १३ औं दिनको पुण्यतिथि मंगलवार परेको थियो । पक्राउ परेका थापालाई सदरमुकाम लगिएको छ ।
राजनीतिक संरक्षण रहेको थापालाई घटना भएको २३ दिनपछि प्रहरीले पक्राउ गरेको हो । शुरुमा उनीविरुद्ध जाहेरी लिन नमानेको दमक प्रहरीले चर्को आन्दोलनपछि मात्र जाहेरी लिन बाध्य भएको थियो ।
निरौला हत्यामा संलग्न ९ जनामाथि जाहेरी परेको छ । त्यसमध्ये ८ जना पक्राउ परेका छन् भने सुनसरी इटहरीका डेबिड घले पक्राउ परेका छैनन् ।