पोखरा । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ ।
उनलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । भोलिपल्ट विहानपख उनलाई पोखरा ल्याइपुर्याइएको हो ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार विदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइएको हो ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा वयान लिइरहेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशी, सहकारी ठगी प्रकरणमा पक्राउ परेका लिला पछाईं र रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिनेछ । रविसहित चारै जनालाई अदालत लगिएको छ ।
