झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभिट्टामा पक्राउ परेका छन्।
मंगलबार मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाइ डिकी लगायतका अन्य भागहरूमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो।
अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० मूल्य बराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थप कानुनी कार्वाहीका लागि सामान र व्यक्ति मेची भन्सार कार्यालयमा बुझाइएको डीएसपी कृष्णकुमार चन्दले बताए।